काठमाडौँ। नेकपा माओवादी केन्द्रले आफ्नो मातहतका कमिटीलाई ८ बुँदे सर्कुलर जारी गरेको छ। उक्त सर्कुलर पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा चैत्र १८ र १९ गते भएको केन्द्रीय कार्यालय (पदाधिकारी) को बैठकको निर्णयअनुसार आइतबार पठाइएको हो।
सर्कुलरमा अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षर गरिएको छ, जसमा वर्तमान परिस्थितिको संक्षिप्त संश्लेषण गरिएको छ।
सर्कुलर अनुसार, प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने निर्णय गरिएको छ भने सह–इन्चार्ज रहेका व्यक्तिहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यको रूपमा निरन्तर कायम राख्ने व्यवस्था गरिएको छ।
त्यस्तै, सर्कुलरमा सप्तरी, महोत्तरी, बाजुरा र जाजरकोट जिल्लाका इन्चार्जको नियुक्ति पनि गरिएको छ। यसअनुसार, सप्तरी जिल्ला इन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, महोत्तरी इन्चार्जमा प्रकाश पोखरेल, बाजुरा इन्चार्जमा मनलाल खत्री (मिलन) र जाजरकोट इन्चार्जमा गणेश प्रसाद सिंहलाई तोकिएको छ।
पार्टी एकता प्रक्रियासँग जोडिएका नेताहरूको जिम्मेवारी पनि निश्चित गरिएको छ। कोशी प्रदेशबाट जयराज संयोजक लिम्बू र प्रवीण चाम्लिङलाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको छ। मधेस प्रदेशबाट लक्ष्मी चौधरी (ज्योति)लाई केन्द्रीय सदस्य र प्रमोद साहलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरिएको छ।
यस्तै, बागमती प्रदेशबाट नवीन रिमाल र अर्जुन योगीलाई वैकल्पिक केन्द्रीय सदस्य, कर्णाली प्रदेशबाट तर्कबहादुर शाहीलाई केन्द्रीय सदस्य तथा भिमबहादुर मल्ल (सुवास)लाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको छ।
विशिष्ट अवस्था उल्लेख गर्दै पूर्णसिँ राजवंशीलाई केन्द्रीय सदस्य र पि.यल. श्रेष्ठ र हरिस ठकुल्लालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। यसैगरी, नन्दबहादुर पुन (पासाङ)लाई पार्टी केन्द्रीय सदस्य र स्थायी समिति सदस्यको जिम्मेवारी पनि सर्कुलरमा दिइएको छ।
सर्कुलरमा, विगतमा विद्यार्थी संगठनका कार्यदलहरूको सिफारिसको आधारमा उनीहरूको बढुवाको सिफारिस स्थगित गरिएको छ, र स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको छ।
सर्कुलरमा यो पनि भनिएको छ कि विभागहरूको बैठक बसेर सबै विभागलाई क्रियाशील बनाउने निर्णय गरिएको छ, र यदि विभागीय सदस्यहरूको थपघट गर्नुपर्ने भयो भने, त्यसको सिफारिस सम्बन्धित विभाग प्रमुखको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ।










