काठमाडौं ! मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईं भारतको आसाम राज्यको प्रहरीले पक्राउ गरेका छन्। उनकाे सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रसाईंले बिहीबार आफैं आत्मसमर्पण गरेको जनाएको छ।
‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंले आफ्नो सुरक्षाका लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ,’ सचिवालयको भनाइ छ।
सचिवालयका अनुसार, बुधबार सार्वजनिक गरिएको एक भिडियो सन्देशमा प्रसाईंले आफूलाई ज्यानको सुरक्षा सुनिश्चित गरिए २४ घण्टाभित्र सरसामानका साथ उपस्थित हुने बताएका थिए। सोही अनुसार उनी बिहीबार भारतीय प्रहरीले समातेका हुन्।
प्रसाईंमाथि चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित विरोध प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेको छ। उक्त प्रदर्शनमा झडप भएको थियो भने केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका थिए। घटनापछि प्रहरीले उनीविरुद्ध अनुसन्धान थाल्दै पक्राउ प्रयास गरिरहेको थियो।
सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनी पछिल्ला केही दिनदेखि सार्वजनिक कार्यक्रमहरूमा देखिएका थिएनन्। अब उनीलाई नेपाल फर्काउने प्रक्रियाबारे सरकारी निकायहरूले आधिकारिक जानकारी दिन बाँकी छ।










