काठमाडौं, वैशाख ८ – नेपाली हाँस्य टेलिसिरियलको क्षेत्रमा छुट्टै पहिचान बनाएको हर्के हल्दार टेलिसिरियलले आफ्नो ७०० औं भाग सफलतापूर्वक सम्पन्न गरेको उपलक्ष्यमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ।
खम्बे इन्टरटेनमेन्टको निर्माण तथा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको यो सिरियल नेपाली दर्शकमाझ लोकप्रिय रहँदै आएको छ। सोही लोकप्रियताको निरन्तरतासँगै ७०० औं भागको अवसर पारेर हर्के हल्दार टिमले काठमाडौंस्थित मानव सेवा आश्रममा २४० जना आमाबुवाहरूलाई विशेष भोजन गराउनुका साथै मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरेको छ।
कार्यक्रममा आमाबुवाहरूको हातबाट आशीर्वाद प्राप्त गर्ने अवसर पाएको बताउँदै निर्माता इन्द्र दोङ लामा ‘खम्बे’ले मानव सेवा आश्रमका सम्पूर्ण परिवारप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।
“हाम्रो टेलिसिरियलले मनोरञ्जन मात्र होइन, सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,” निर्माता खम्बेले भने, “आशा छ, आगामी दिनहरूमा पनि दर्शकवर्गले यस्तै माया, साथ र समर्थन दिइरहनुहुनेछ।”
कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी शिवहरी धिताल (जीबा) लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो।
हर्के हल्दार ले हास्यव्यङ्ग्यको माध्यमबाट समाजमा व्याप्त विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्दै आएको छ। टेलिसिरियलले ७०० औं भागसम्म आइपुग्दा पनि दर्शकको माया निरन्तर पाइरहनु यसको सफलताको संकेत हो।











