काठमाडौं, वैशाख ७ ! प्रहरी जवान पदको लिखित परीक्षामा ठगीको प्रयास गर्ने ६ नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बानेश्वरस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सञ्चालित परीक्षामा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा सञ्चालित सो लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन्। परीक्षा केन्द्रबाट फरक फोटो टाँसिएका प्रवेशपत्र र नक्कली नागरिकताको प्रतिलिपी फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरू को–को?
पक्राउ पर्नेमा दोलखाका मोहन सुनुवार (२३), कालिकोटका गोपाल शाही (२४), सुर्खेतका मनोज शर्मा (२२) र उमेश शर्मा (२०), दैलेखका आकाश खड्का (२२) तथा जुम्लाकी मिन रावल (२२) रहेका छन्। उनीहरू सबैले अर्काको परिचयमा परीक्षा दिने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
संगठित गिरोहको संलग्नता?
प्रहरीको प्रारम्भिक अनुमानमा यस घटनामा कुनै संगठित ठगी समूहको संलग्नता हुनसक्ने देखिएको छ। हाल पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।
भर्नी प्रक्रियामै प्रश्न
यस घटनाले भर्ति प्रक्रियाको सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको बताएको छ। यस्ता घटनाले प्रहरी संस्थाको विश्वसनीयतामाथि प्रत्यक्ष असर पार्छ l अबको भर्तीमा थप प्रविधिमैत्री र निगरानीयुक्त प्रणाली लागू हुनुपर्ने चुनौती थपिएको छ l
कडा नीति र कारबाहीको तयारी
भविष्यमा यस्ता घटनाबाट सुरक्षित रहन प्रहरी प्रशासनले बायोमेट्रिक पहिचान, सीसीटिभी निगरानी, र कडाइका साथ परिचय प्रमाणीकरण गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ। साथै, यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई प्रहरी सेवाबाट स्थायी रूपमा वर्जना गरिने र प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट गरिएको छ।
✍ सुराकी खबर संवाददाता
www.surakikhabar.com | सत्य खोज्दै, निष्पक्ष बोल्दै










