तनहुँ वैशाख ११ ! प्रहरी कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन गर्दै हौसला प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा “महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” छनोट कार्यक्रमअन्तर्गत यसपटक तनहुँ जिल्लाको बेलचौतारा स्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थापालाई चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ।

“महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८१” अन्तर्गत सम्पूर्ण मातहत कार्यालयहरूबाट सिफारिस भई आएका प्रहरीमध्ये निरीक्षक थापा उत्कृष्ट कार्यसम्पादनका आधारमा सर्वोत्कृष्ट ठहरिएका हुन्।
उनी नेतृत्वको टोलीले अपराध नियन्त्रण, अनुसन्धान, जनसुरक्षा तथा समुदाय–प्रहरी साझेदारीमा देखाएको सक्रियता र प्रभावकारिता विशेष मूल्याङ्कनमा परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पुरस्कारको माध्यमबाट सेवा भावना, उत्तरदायित्व र समर्पणप्रतिको उच्च मूल्याङ्कन गर्दै अन्य प्रहरी कर्मचारीहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।










