कैलाली, वैशाख ११ ! काठमाडौँबाट बझाङतर्फ गइरहेको यात्रुवाहक बस कैलालीको घोडाघोडी क्षेत्रमा दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ को सडकखण्डमा बिहीबार बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार स्थानीय निशर्ग अस्पतालमा भइरहेको छ। उनीहरू मध्ये कसैको अवस्था गम्भीर नरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।










