एजेन्सी असार १५ ! नेपालले एएफसी महिला एशियन कप छनोटको पहिलो खेलमा प्रभावशाली प्रदर्शन गर्दै लाओसलाई फराकिलो ९–० गोलअन्तरले पराजित गरेको छ। उज्बेकिस्तानको तास्केन्तमा मंगलबार सम्पन्न खेलमा नेपाली कप्तान सावित्रा भण्डारीको उत्कृष्ट नेतृत्व र चार गोलसहितको ह्याट्रिक निर्णायक रह्यो।
नेपालका लागि सावित्रासँगै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमारी घिसिङले समान एक–एक गोल गरे भने लाओसले एक आत्मघाती गोल पनि खाएको थियो।
साथै, यो खेलसँगै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो १००औं खेल पनि सम्पन्न गरेको छ, जसले नेपाली खेल इतिहासमा थप गौरवपुर्ण अध्याय जोडेको छ।
यस जितसँगै नेपाल समूह ‘एफ’ मा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। सो समूहमा नेपालसँगै आयोजक उज्बेकिस्तान, श्रीलङ्का र लाओस रहेका छन्।
नेपाली टोलीले आगामी खेल असार १८ गते (बुधवार) श्रीलङ्काविरुद्ध र असार २१ गते (शनिवार) आयोजक उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ।
महिला एशियन कप छनोटअन्तर्गत ८ वटा समूहमा ३४ टोली सहभागी छन्। प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोलीहरूले आउँदो वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एशियन कपका लागि छनोट हुनेछन्।
यसअघि आयोजक अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र जापानले एशियन कपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली सहभागिता रहने प्रतियोगिता एसियाली महिला फुटबलको प्रतिष्ठित मञ्च मानिन्छ।










