काठमाडौं भदौ २ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज ज्ञवालीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को CEO नियुक्ति प्रक्रियामा पैसाको माग भएको सनसनीपूर्ण खुलासा गरेका छन्।
हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा आईतबार चर्चित पत्रकार राजेन्द्र बानियाँसंगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन्।
ज्ञवलीका अनुसार आफू पनि नेप्सेको CEO बन्ने प्रतिस्पर्धामा सहभागी भएका थिए तर अन्तिम समयमा नियुक्तिका लागि पैसाको दबाब सिर्जना गरिएको थियो।
उनले भने, “म घुस नदिने अडानमा थिएँ। तर चन्दा स्वरूप ५० लाख रुपैयाँ दिन भने तयार भएको थिएँ। तर पनि नियुक्ति पाइँदैन भन्ने स्थिति आयो।”
उनको भनाइ अनुसार, योग्य उम्मेदवारलाई भन्दा पनि आर्थिक लेनदेनका आधारमा नियुक्ति गर्ने प्रवृत्ति रहँदा वित्तीय संस्थामा पारदर्शिता र सुशासनमा प्रश्न उठेको छ।
ज्ञवालीको यो भनाइ सार्वजनिक भएपछि नेप्से तथा नियामक निकायहरूमा नियुक्ति प्रक्रियाको पारदर्शितामाथि पुनः बहस सुरु हुने देखिएको छ।










