रुकुम फाल्गुन ६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद मार्ग निर्माणको अवधारणा जनयुद्धकै समयमा आफूले प्रस्ताव गरेको बताएका छन्।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले शहीदहरूको नाममा दक्षिणदेखि उत्तरसम्म जोडिने मार्ग आवश्यक रहेको भन्दै पार्टीमा प्रस्ताव राखिएको स्मरण गराए। उक्त प्रस्ताव पार्टी निर्णयमा पुगेर जनतालाई आह्वान गरिएको र त्यसपछि स्थानीयवासीले स्वेच्छिक रूपमा बाटो खन्न सुरु गरेको उनको भनाइ छ।
प्रचण्डले दाङ हुँदै आएको शहीद मार्गलाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने सपना रहेको बताए। यो योजना पूरा भएमा मैकोटसहित आसपासका क्षेत्रहरू पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनले अनुमान गरे।
उनका अनुसार शहीद मार्ग केवल सडक पूर्वाधार मात्र नभई त्याग, संघर्ष र परिवर्तनको प्रतीक हो। यसले स्थानीय विकास, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।










