काठमाडौं! देशभर चरम लोडसेडिङको समस्या समाधानका लागि तत्कालीन प्रचण्ड सरकारले ऊर्जा विज्ञका रूपमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सरकारको स्पष्ट योजना र घिसिङको दक्षता तथा नेतृत्वका कारण देशभरको लोडसेडिङ अन्त्य भई “उज्यालो नेपाल” निर्माण सफल भएको जनमानसमा व्यापक रूपमा परिचित छ।
तर, प्राधिकरणको बाँकी बक्यौता असुलीका विषयमा उहाँले अपनाएको कडा नीति र पारदर्शी कार्यशैलीका कारण सरकारले लामो समयदेखि उहाँमाथि दबाब सिर्जना गर्दै पटक–पटक स्पष्टीकरण मागेको थियो। यसैक्रममा, सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको खबर सार्वजनिक भएको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको यो कदमलाई ‘बिल्कुल गलत र आपत्तिजनक’ भन्दै विरोध जनाएका छन्।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भनेका छन्, “आशा गरौँ, यो खबर असत्य होस्। यदि सत्य रहेछ भने, दुई-तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर आपत्ति जनाउँदै म यसको कडा विरोध गर्दछु।”










