काठमाडौं, वैशाख ९! वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा अन्ततः स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अब वैशाख २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
बोर्डले आज बिहान मात्र परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने तयारी गरेको थियो। आवश्यकता परे निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गराउने निर्णय सार्वजनिक गरिएको थियो। तर सो निर्णय गरिएको करिब ६ घण्टापछि बोर्डले आफ्नो अडान परिवर्तन गर्दै परीक्षा स्थगित गर्ने निर्णय लिएको हो।
पछिल्लो समय शिक्षकमध्ये ठुलो संख्याले आन्दोलनरत रहेकाले परीक्षा सञ्चालनमा व्यवहारिक कठिनाइ देखिएको बोर्ड स्रोतले जनाएको छ। यही अवस्थालाई ध्यानमा राख्दै बोर्डले परीक्षा मिति सार्ने निर्णय गरेको हो।
नयाँ तालिका अनुसार परीक्षा वैशाख २१ गतेदेखि सुरु हुनेछ भने बाँकी विवरण चाँडै सार्वजनिक गरिने बोर्डले जनाएको छ।










