काठमाडौं, वैशाख १४ ! प्राइम टाइम टेलिभिजनकी पत्रकार सविना कार्कीको आखाँमा समस्या देखिएको छ। आज काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार संकलन गरिरहेका बेला प्रहरीले प्रहार गरेको पानीको फोहोरा सिधै आँखामा लागेर पत्रकार कार्की घाइते भएकी हुन् ।
घटनापछि प्रहरीद्वारा कार्कीलाई सिभिल अस्पताल लगिएको थियो। हाल कार्की सोही अस्पतालमा उपचाररत छन्।
नेपाल पत्रकार महासंघको टोलीले सिभिल अस्पताल पुगेर पत्रकार कार्कीसँग भेट गरी घटनाबारे जानकारी लिएको छ। महासंघले घटनाप्रति चासो व्यक्त गर्दै कार्कीको स्वास्थ्य अवस्थाबारे थप आवश्यक सहयोगका लागि पहल गर्ने जनाएको छ।
आइतबार नयाँबानेश्वरमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो। झडपमा ६० जनाभन्दा धेरै शिक्षक घाइते भएका छन् ।










