काठमाडौं वैशाख १७ ! नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच विद्यालय शिक्षा सम्बन्धी विषयमा ९ बुँदे सहमति भएपछि शिक्षक आन्दोलन स्थगित भएको छ। नेपाल शिक्षक महासंघले “नेपाल सरकार मन्त्री परिषद्बाट निर्णय गरी सम्बोधन हुनेगरी मागहरू स्वीकार गरिएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हडताल तथा सडक प्रदर्शन सबै स्थगित गरिएको” जानकारी दिएको हो।
सहमतिअनुसार सरकार र महासंघबीच भएका मुख्य ९ बुँदे निर्णयहरू यसप्रकार छन्:
१. स्वास्थ्य उपचार सुविधा: काठमाडौंमा रहेको निजामती अस्पतालमा रबन्दीमा रहेका शिक्षकलाई मासिक रुपमा उपचार खर्च सहुलियत उपलब्ध गराइनेछ।
२. सेवा सुविधा सुनिश्चितता: अस्थायी, राहत, करार, प्राविधिक शिक्षक तथा बाल विकास सहयोगीहरूलाई विदामा सेवा अवधि अनुसार अन्य सुविधा प्रदान गरिनेछ।
३. बाल विकास सहयोगीको व्यवस्थापन: प्रारम्भिक बाल विकास सहयोगीको व्यवस्थापन स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समिति र पालिकामार्फत गरिनेछ।
४. दरबन्दी मिलान: २०७८ मंसिर ८ पछि नियुक्त भएका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक शिक्षकको दरबन्दी मिलान गरिनेछ।
५. एकीकृत भर्ती प्रक्रिया: विद्यालय शिक्षक सेवा भर्ना प्रक्रिया एउटै युनिट प्रणालीअनुसार सञ्चालन गरिनेछ।
६. दरबन्दी पुनः मूल्याङ्कन: सामुदायिक विद्यालयहरूको शिक्षक दरबन्दी पुनरावलोकन गरी आवश्यक संख्या कायम गरिनेछ।
७. सूचना शिक्षक व्यवस्था: विद्यालयमा सूचना शिक्षकको व्यवस्था गरिनेछ।
८. निलम्बित शिक्षकको बहाली: आन्दोलनका क्रममा निलम्बनमा परेका शिक्षकहरूलाई पुनः बहाली गरिनेछ।
९. श्रेणीगत बढुवा: निम्न माध्यमिक द्वितीय श्रेणीका शिक्षकलाई प्रथम श्रेणीमा बढुवा गरिनेछ।
नेपाल शिक्षक महासंघले शैक्षिक क्षेत्रको स्थायित्व र नियमितता कायम गर्न सबै सार्वजनिक विद्यालयमा पठनपाठन पुनः सञ्चालन गर्न आह्वान गरेको छ। सहमति कार्यान्वयनको सुनिश्चिततासहित अब आन्दोलनका कार्यक्रमहरू अन्त्य गरिएका छन्।










