ॐ समाज डेण्टल अस्पताल र विद्यालयबीच दीर्घकालीन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
तारकेश्वर, असार ११ । तारकेश्वर नगरपालिका–३ स्थित ज्ञानेदय आधारभूत विद्यालयमा ॐ समाज डेण्टल अस्पताल, बानस्थली शाखाको आयोजनामा एक दिवसीय नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। तारकेश्वर क्लब ६० को सहकार्यमा सम्पन्न उक्त शिविरमा विद्यालयका १०२ जना विद्यार्थी, अभिभावक तथा स्थानीय टोलबासीहरूले सेवा प्राप्त गरे।
स्वास्थ्य परीक्षणसहित दन्त परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको शिविरमा विद्यालय र अस्पतालबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MoU) मा पनि हस्ताक्षर गरिएको छ।
विद्यालयको सक्रियता: कार्यक्रमको सफलता
शिविर सफल पार्न विद्यालय प्रशासन, शिक्षक र शिक्षिकाहरूको सक्रियता उल्लेखनीय रह्यो। विद्यालय व्यवस्थापन समितिको समन्वय, शिक्षकहरूको सहजीकरण तथा शिक्षिकाहरूको विद्यार्थी व्यवस्थापनमा देखिएको तत्परताले कार्यक्रमलाई सहज बनायो। प्रिन्सिपलले सम्पूर्ण समन्वय, सम्पर्क र व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो।
प्रेरणादायी सहभागिता
कार्यक्रममा समाजसेवी शारदा प्रसाद अर्याल र बिस्नु ठकुरीको विशेष उपस्थिति रहेको थियो। शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा दुई दशकभन्दा बढी सक्रिय ठकुरीले यस्तो सहकार्यले सरकारी विद्यालय सुधारमा टेवा पुग्ने बताउनुभयो।
अस्पताल टोलीको समर्पण
शिविरमा ॐ समाज डेण्टल अस्पतालकी प्रमुख सबिना पापन गुरुङको नेतृत्वमा डा. रितिका श्रेष्ठ, डा. सुदेसा अधिकारी, दन्त सहायक जुनु पण्डित र दुर्गा न्यौपाने सम्मिलित टोलीले सहभागीहरूको दन्त परीक्षण, परामर्श तथा आवश्यक सल्लाह प्रदान गरे।
प्रमुख गुरुङले भनिन्,
“हाम्रो अस्पताल यस्ता बाबु–नानीहरूकै लागि हो। दुर्गम र सुविधाविहीन क्षेत्रका बालबालिकालाई सेवा दिन पाउनु हाम्रो सौभाग्य हो।”
उहाँले पत्रकार राजन थापाको संयोजन र पहललाई शिविर सफलताको आधारका रूपमा उल्लेख गर्दै विशेष धन्यवाद दिइन्।
समन्वयकर्ताको निर्णायक भूमिका
शिविर सफल बनाउन पत्रकार तथा सामाजिक अभियन्ता राजन थापाको समन्वयात्मक भूमिका उल्लेखनीय रह्यो। विद्यालय र अस्पतालबीच सहकार्यको सेतु बनेका थापाले भने,
“सरकारी विद्यालय सुधारका लागि विद्यालय, शिक्षक, अभिभावक, सामाजिक संस्था र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य छ। शिक्षा र स्वास्थ्यको एकीकृत प्रयासबाट मात्र समावेशी र गुणस्तरीय सिकाइ सम्भव छ।”
यो दन्त स्वास्थ्य शिविरले शिक्षा र स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सरकारी विद्यालयमा सकारात्मक अभ्यासको उदाहरण प्रस्तुत गरेको छ। सामुदायिक सहभागिता, संस्थागत सहकार्य र सामाजिक समर्पणका माध्यमबाट मात्र दिगो परिवर्तन सम्भव छ भन्ने सन्देश कार्यक्रमले दिएको छ।










