ललितपुर, १० असार । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरको आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण सार्वजनिक गरिएको छ। नेपाल पत्रकार महासंघ ललितपुर शाखा र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयुक्त आयोजनामा ललितपुरको एकान्तकुनास्थित क्वालिटी फुडमा “आयुर्वेद सेवा कार्यक्रमहरूको विषयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको हो।
कार्यक्रममा चिकित्सालयकी प्रमुख डा. पुनम नेपालले आर्थिक वर्ष २०८२/८३ मा चिकित्सालयले आफ्नो सेवा प्रवाह र बजेट कार्यान्वयनमा हासिल गरेको उत्साहजनक प्रगतिको प्रस्तुतीकरण गर्नुभएको थियो।
सेवा लिनेमा महिलाको संख्या उच्च
डा. नेपालले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार आयुर्वेद सेवातर्फ ओपिडी (OPD) र समग्र सेवा लिनेमा पुरुषको तुलनामा महिलाको संख्या उल्लेखनीय रूपमा बढी देखिएको छ।
कुल सेवाग्राही संख्या: गत आर्थिक वर्षमा कुल १९,१२६ जनाले चिकित्सालयबाट सेवा लिएका छन्। जसमा महिलाको संख्या ११,१२७ र पुरुषको संख्या ७,९९९ रहेको छ।
ओपिडी भिजिट: नयाँ सेवाग्राहीका रूपमा ५,७०१ महिला र ३,९८२ पुरुषले ओपिडी सेवा लिएका छन् भने पुराना (दोहोरिएका) सेवाग्राहीमा ४,४२३ महिला र ३,०६५ पुरुष रहेका छन्।
पञ्चकर्म र अकुपञ्चरमा आकर्षण
चिकित्सालयबाट प्रदान गरिएका विभिन्न सेवाहरूमध्ये अकुपञ्चर, योग र पञ्चकर्म सेवामा नागरिकको आकर्षण बढी देखिएको छ। विवरण अनुसार:
पञ्चकर्म (पूर्वकर्म) सेवा: ७,५६२ जना
योग सेवा: ४,०२१ जना
अकुपञ्चर सेवा: ३,९४५ जना
जनचेतनामूलक सेवा: ३,०२८ जना
पञ्चकर्म (प्रधानकर्म) सेवा: १,०४२ जना
स्तनपायी आमाको सेवा: ४०३ जना
स्वास्थ्य जीवन सेवा: ४० जना
शिविरमार्फत: ३९९ जनाले सेवा लिएका छन्।
ओपिडीमा आउने प्रमुख १० रोगहरू
चिकित्सालयका अनुसार ओपिडीमा उपचारका लागि आउने बिरामीहरूमध्ये सबैभन्दा बढी ग्यास्ट्रिक (APD) र जोर्नी दुखाइ (Osteoarthritis) का समस्या भएकाहरू छन्। प्रमुख १० रोगहरूको विवरण यस प्रकार छ:
१. APD (ग्यास्ट्रिक): १,९३२ जना (१७%)
२. Osteoarthritis (जोर्नी खिइने): १,४०२ जना (१२%)
३. Kati Shoola (कम्मर दुखाइ): ६८६ जना (६%)
४. Cough (खोकी): ५४१ जना (४.७%)
५. Haemorrhoids (पाइल्स): ३७५ जना (३.३%)
६. Rheumatoid Arthritis (बाथ रोग): ३३४ जना (२.९%)
७. COPD (दम खोकी): ३३० जना (२.९%)
८. Abdominal Disorder (पेट सम्बन्धी): २७८ जना (२.४%)
९. Hypertension (उच्च रक्तचाप): २५५ जना (२.२%)
१०. Madhumeha (मधुमेह): २४४ जना (२.१%)
‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ र स्वर्णविन्दु प्राशन
चिकित्सालयले सञ्चालन गरेको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत चालु आवका लागि विनियोजित ७०,००० रुपैयाँ बजेटमध्ये ६४,७७६ रुपैयाँ खर्च भई ९२.५४ प्रतिशत प्रगति हासिल भएको छ। यस कार्यक्रम अन्तर्गत विभिन्न उमेर समूहका कुल २३३ जना महिला र १५६ जना पुरुष गरी ३८९ जनाको स्क्रिनिङ गरिएको छ, जसमा ६० वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका नागरिकको संख्या सबैभन्दा बढी (महिला ४०, पुरुष ३६) रहेको छ।
त्यस्तै, बालबालिकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रम तर्फ आव २०८०/८१ र २०८१/८२ को तुलनामा आव २०८२/८३ मा व्यापक वृद्धि भई २,२६७ जना बालबालिका लाभान्वित भएका छन्।
वित्तीय प्रगति उत्कृष्ट: ९० प्रतिशतभन्दा बढी बजेट खर्च
आर्थिक वर्ष २०८२/८३ मा चिकित्सालयको समग्र बजेट खर्चको अवस्था निकै उत्साहजनक देखिएको छ। चालु खर्चतर्फ ९६.४९ प्रतिशत र पुँजीगततर्फ ९७.५७ प्रतिशत बजेट खर्च भएको छ भने संघीय ससर्त अनुदानतर्फ ९०.५० प्रतिशत रकम खर्च भएको चिकित्सालयले जनाएको छ।
ऋषिमुनी देखिको आयुर्वेदलाई पूर्ण क्षमतामा चलाउन सकिएन: वरिष्ठ पत्रकार बस्नेत
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वरिष्ठ पत्रकार प्रभु नारायण बस्नेतले आयुर्वेद चिकित्सा पद्धतिको ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले ऋषिमुनीहरूको पालादेखि नै पहिलो प्राथमिकतामा पर्दै आएको रैथाने र भरपर्दो चिकित्सा पद्धतिका रूपमा आयुर्वेद स्थापित भए पनि आधुनिक समयमा हामीले यसलाई उपयुक्त किसिमले पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको तर्फ चिन्ता व्यक्त गर्नुभयो। आयुर्वेद सेवाको पहुँचलाई अझै विस्तार र सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा उपस्थित अन्य सञ्चारकर्मीहरूले पनि आयुर्वेद चिकित्साका सकारात्मक प्रभावहरू तथा साइड-इफेक्टरहित उपचार पद्धतिका बारेमा जनस्तरमा व्यापक चेतना फैलाउन र प्रचारप्रसारलाई जोड दिनुपर्ने धारणा राखेका थिए।










