काठमाडौं ! नेपालमा प्लाईउड उत्पादन गर्दै आएको ग्रीन प्लाई नेपाल सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा जुटेको छ। सो प्रक्रिया अघि बढाउने क्रममा कम्पनीले असार ३१ गते प्राइभेट लिमिटेडबाट सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको जनाएको छ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने योजना बनाएको छ। उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले साउन २२ गते विशेष साधारणसभा समेत आह्वान गरेको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा बिक्रीमा उल्लेखनीय सुधार भएको छ। सो अवधिमा कम्पनीको कारोबार करिब रु. ४७.५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बढी हो।
ग्रीन प्लाई नेपालले पछिल्ला पाँच आर्थिक वर्षदेखि निरन्तर नाफामा व्यवसाय सञ्चालन गर्दै आएको जनाएको छ। उत्पादनमध्ये करिब ३० प्रतिशत नेपाली बजारमा बिक्री हुने र ७० प्रतिशतभन्दा बढी भारत निर्यात हुने कम्पनीको दाबी छ।
आईपीओ निष्काशनको प्रक्रिया नियामकीय स्वीकृतिपछि अघि बढ्ने छ।










