मड्रिड । स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
म्याड्रिडस्थित यूएन पर्यटन मुख्यालयमा मंगलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले प्रमाणपत्र बुझाउँदै नेपालको तर्फबाट शुभकामना सन्देश पनि हस्तान्तरण गरेका थिए ।
प्रमाणपत्र प्रस्तुतिपछि भएको भेटवार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई शुभकामना व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिएका थिए।
महासचिव पोलोलिकाश्विलीले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा नेपालले महामारीपछिको पूर्ण सुधार हासिल गरेकोमा बधाई दिँदै नेपालको प्रयासको सराहना गरेका थिए । उनले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान र विश्व पर्यटनमा र्पुयाएको योगदानको प्रशंसा गरेका थिए ।
राजदूत नेपालले नेपालले पर्यटनको विविधीकरणमा दिएको प्राथमिकता, जस्तै अध्यात्मिक र सांस्कृतिक सम्पदा तथा जैविक विविधताको प्रवद्र्धनबारे जानकारी दिँदै भविष्यमा यूएन पर्यटनका उच्चस्तरीय सम्मेलनहरू नेपालमा आयोजना गर्न प्रस्ताव पनि राखेका थिए । महासचिवले उक्त प्रस्तावप्रति चासो व्यक्त गर्दै सम्भावनाबारे थप छलफल गर्न इच्छुक रहेको जनाएका थिए ।
भेटमा नेपाल र यूएन टुरिज्मबीच सहकार्य विस्तारका विविध सम्भावनाहरूबारे पनि छलफल भएको थियो। महासचिव पोलोलिकाश्विलीले प्रभावकारी संवाद र सहकार्यमार्फत दुवै पक्षबीचको सम्बन्ध अझ बलियो बनाउनेमा जोड दिए ।
समारोहमा यूएन पर्यटन र नेपाली दूतावासका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।










