काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल), नेपालको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ साल जेठ १७ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ।
वाइसीएल अध्यक्ष सुवोधराज शेर्पालीको अध्यक्षता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले सम्मेलनको मिति तय गरेको हो। बैठकमा पार्टी उपमहासचिव शक्ति बस्नेत र संगठन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’को विशेष उपस्थिति थियो।
बैठकले राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले संगठनलाई सशक्त बनाउँदै सम्मेलनलाई भव्य बनाउन निर्देशन दिएका छन्। वाइसीएल अध्यक्ष शेर्पालीका अनुसार यो सम्मेलनले युवामा देखिएको नकारात्मक भ्रम चिर्दै संगठनलाई बलियो बनाउने लक्ष्य राखेको छ।
सम्मेलनको मुख्य नारा ‘उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन; सुशासन, सामाजिक न्याय, नेपाल सम्बृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन‘ तय गरिएको छ।
सम्मेलन व्यवस्थापनको जिम्मेवारी अध्यक्ष शेर्पालीसहित केन्द्रीय सदस्यहरूले लिनेछन्। संगठनात्मक कार्यविधि, निर्वाचन प्रक्रिया र विधान संशोधनका लागि छुट्टै कार्यदल गठन गरिएको छ।
साथै, अतिथि व्यवस्थापन, स्वास्थ्य, अनुशासन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार र स्वयंसेवक परिचालनका लागि उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको वाइसीएलले जनाएको छ। स्थानीय, जिल्ला र प्रदेशस्तरका बैठकको मिति पनि तय भइसकेको छ।










