एजेन्सी ! स्पेनका लागि नेपाली राजदूत शनिल नेपालको पहलमा म्याड्रिडस्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा “नेपाल नाइट: गन्तव्य नेपाल प्रवर्द्धन कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। नेपाली पर्यटन प्रवर्द्धनका लागि आयोजित यस कार्यक्रममा स्पेनका प्रतिष्ठित पर्यटन व्यवसायी, ट्राभल एजेन्सीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह र पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले सम्बोधन गर्दै नेपाल पर्यटनको विविध पक्षबारे प्रकाश पारे। साथै, नेपाल पर्यटन बोर्डले नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्दै विशेष प्रस्तुति दिएको थियो।
राजदूत शनिल नेपालले नेपाललाई स्पेनी पर्यटकका लागि थप आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउँदै, नेपाली दूतावासले आगामी दिनमा पनि पर्यटन प्रवर्द्धनका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।










