काठमाडौं ! काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको आन्दोलन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्दै गरिएको प्रदर्शनप्रति प्रशंसा प्रकट गरेका हुन्।
“तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरिदिनुभयो, धन्यवाद। हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो,” उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।
उनले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्दै चेतनशील समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै शिक्षकहरूलाई विद्यार्थीहरूको अध्ययन प्रभावित नहुने गरी आफ्नो माग राख्न आग्रह गरेका छन्। साथै, “गाउँ-गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो, आशा छ, एकदिन अधिकारका लागि बारम्बार काठमाडौं धाइरहनु नपरोस्,” भन्ने अभिव्यक्तिसहित उनले शिक्षकहरूको भूमिकालाई झन् महत्त्वपूर्ण भनेका छन्।
बालेनको सन्देशले शिक्षण पेशाको गरिमा जोगाउँदै, समाजमा सकारात्मक परिवर्तन ल्याउन सबै पक्षले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने संकेत गरेको छ।










