ताप्लेजुङ, फागुन ९ ! ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० तेर्सेमा पाथीभरा मन्दिर दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको बोलेरो जिपमा अचानक आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
फुङ्लिङ बजारबाट तीर्थयात्री लिएर पाथीभरा मन्दिरतर्फ गइरहेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान ४:५० बजेतिर आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएपछि करेन्ट लागेर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका अनुसार घटनास्थलमै ४ जनाको ज्यान गएको छ भने अन्य दुई घाइतेलाई उद्धार गरेर तत्काल उपचारका लागि अस्पताल पठाइएको छ। विस्तृत विवरण आउन बाँकी छ।










