काठमाडौँ, वैशाख १० ! नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुई नेपाली राजदूतलाई थप राष्ट्रमा गैरआवासीय राजदूतका रूपमा नियुक्त गरेका छन्।
स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई अब गणतन्त्र माल्टाका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ। यसैगरी, इजरायलका लागि नेपालका आवासीय राजदूत प्राध्यापक डा. धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि गैरआवासीय राजदूतका रूपमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जानकारी दिएका छन्।
नयाँ नियुक्तिका साथ दुवै राजदूतले सम्बन्धित मुलुकहरूसँग द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने, सहयोग विस्तार गर्ने तथा नेपाली समुदायको हितमा कार्य गर्ने अपेक्षा गरिएको छ।
नेपाल सरकारको यस्तो निर्णयले नेपालको कूटनीतिक पहुँच विस्तार हुने र अन्तर्राष्ट्रिय सम्बन्धमा सशक्त उपस्थिति जनाउने विश्वास लिइएको छ ।
विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्पेनका लागि नेपालका आवासीय राजदूत श्री शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि र इजरायलका लागि नेपालका आवासीय राजदूत प्रा. धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८२ साल वैशाख १० गते बुधबार।
ने.सं. ११४५ चौलागा दशमी।
(बसन्त प्रसाद पन्थी)
सहायक प्रवक्ता










