लेखक : कृष्ण पौडेल
काठमाडौं वैशाख १२ ! नेपालको राजनीतिमा अहिले एउटा अचम्मको अवस्था छ—सडकमा पनि एमाले, सरकारमा पनि एमाले ! विरोध गर्ने पनि उनीहरू नै, शासन चलाउने पनि उनीहरू नै। यस्तो दृश्यमा ‘राज्य’ र ‘पार्टी’ छुट्टिन्छ कि मिल्छ भन्ने प्रश्न नै अप्रासंगिकजस्तै देखिन्छ।
केपी शर्मा ओलीको नेतृत्व अहिले त्यस्तो मोडमा पुगेको छ, जहाँ उनी जसलाई “बा” भन्छन्, ऊ मन्त्री बन्न सक्छ। समर्थन गरे पुग्छ—कार्यकर्ता होस् कि बटुवा, भविष्यमा मन्त्री बन्न कुनै व्यवधान देखिन्न। यदि ओलीले उस्तै परे, कुनै दिन “राजनेता केपी ओली” भन्ने व्यक्तिलाई सडकबाट च्याप्प समातेर मन्त्रिपरिषद् भित्र्याए पनि अचम्म मान्नुपर्दैन।
राजनीतिको परिभाषा नै नयाँ बन्न लागेको छ—जहाँ योग्यता होइन, भक्ति चाहिन्छ। ओलीलाई अहिले जसले “हजुर बा” भनेर सम्मान गर्छ, ऊ योग्य ठहरिन्छ। जब मानिसको सबै रणनीति, तर्क र सिद्धान्त समाप्त हुन्छ, तब ऊ जसले पनि समर्थन गर्छ उसलाई भगवान सम्झिन थाल्छ। र, यस कथालाई जीवन्त बनाउने पात्र हुन्—रघुजी पन्त।
पन्त अहिले ओलीका लागि देवताजस्तै भइसके। न नीति, न नैतिकता—अब ओलीको संसारमा “मेरो पक्षमा बोल” भन्ने एउटा सूत्रले मात्र सबथोक मिल्छ।
अब त झन् स्थिति यस्तो बनेको छ कि –
सत्ता एमालेको, प्रतिपक्ष एमालेको, सडक एमालेको, राष्ट्र एमालेको!
राज्यका हरेक कुनामा एउटा एउटै स्वर गुञ्जिरहेको छ—जय एमाले!
“भक्ति काव्य, पीडाको मौनता र सत्ताको आत्मरतिमा हराएका नागरिक” का जति नै चेत नखुले सम्म यो देशमा हुने यस्तै हो ।
विदेशिएका लाखौं नेपाली नागरिकहरूको आँसु र चिच्याहट सत्ताका ढोकाहरूमा कहिल्यै प्राथमिकतामा पर्दैन। उनीहरूको रगत, पसिना र बलिदानबाट चलेको देशमा आज उनीहरूलाई शून्यजस्तै बनाइँदैछ। रोए, कराए, चिच्याए – फरक पर्दैन। सत्ताका लागि ती पीडाहरू कुनै मूल्यका छैनन्।
तर, यदि उनीहरूले एउटै नारा दोहोर्याइदिए—“जय होस् बा!”, “सद्गुण सम्पन्न नेता!”—त्यसैमा सन्तुष्टि मिल्छ सत्तालाई। भीड चाहिन्छ, चेतना होइन। नारा चाहिन्छ, विवेक होइन।
जुन कुराको हिजो विरोध गरिन्थ्यो—राजतन्त्रको रबाफ, शक्तिको दुरुपयोग, नागरिक उपेक्षा—आज ती नै कामहरू वर्तमान सत्ताधारीले गर्वका साथ दोहोर्याइरहेका छन्।
“भक्तिको डमरु” बजाउनेहरूले अहिले त्यही शैली अपनाएका छन्, जुन उनीहरूले पहिल्यै खण्डन गरेका थिए।
विदेशमा दुःख भोगिरहेका हरेक नेपालीहरुको देश फर्कने, त्यो दिनको कल्पनासँगै अहिले उनीहरूमा चरम निराशा छाएको छ। किनभने, उनीहरूको पीडा ‘भक्ति काव्य’ लेख्ने सत्ताको सूचीमा कहिल्यै अटाउँदैन।










