काठमाडौँ वैशाख १५ ! नेपाली बजारमा आज सुनको भाउ सामान्यरूपमा वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अस्ति शुक्रवार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ६ सय रुपैयाँ थियो। सुनको मूल्यमा सामान्य वृद्धि भए पनि चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार ९९० रुपैयाँमा झरेको महासङ्घले जानकारी दिएको छ।
चीनले हालै सुन खरिद बढाएको पुष्टि आधिकारिक रूपमा भएको छ। चीनको केन्द्रीय बैंक (पिपुल्स बैंक अफ चाइना) ले २०२५ को जनवरीमा थप ५ टन सुन खरिद गरेको छ र त्यससँगै चीनको कुल सुन भण्डारण २,२८५ टन पुगेको छ। यो चीनको विदेशी मुद्रा सञ्चितिको लगभग ५.९ प्रतिशत बराबर हो।
चीनले विदेशी मुद्रा अर्थात् डलर अन्तराष्ट्रिय प्रभुत्व घटाउन सुनमा लगानी बढाएको छ। अमेरिकासँगको व्यापार युद्धलाई यसको प्रमुख कारक मान्न सकिन्छ ।
यद्यपि, चीनमा २०२५ को पहिलो त्रैमासिकमा सुनको कुल उपभोग भने ५.९६ प्रतिशतले घटेर २९०.४९२ मेट्रिक टनमा झरेको छ। सुन गहनाको मागमा २६.८५ प्रतिशत गिरावट आएको भए पनि सुनका बार र सिक्काको मागमा भने २९.८१ प्रतिशत वृद्धि भएको छ, जसले लगानीका लागि सुनमा चासो बढेको देखाउँछ।
यस्तै, चीनमा वसन्त चाडको अवसरमा सर्प वर्ष सम्बन्धी सुन गहनाहरूको बिक्री उल्लेखनीय रूपमा बढेको देखिएको छ।
यसैले, हाल चीनबाट सुन खरिदमा वृद्धि भएको प्रमाणित तथ्य हो।










