काठमाडौं वैशाख १७! प्रहरी महानिरीक्षक दीपक थापाले आफ्नो जिम्मेवारीमा ईमान्दार र खरो प्रस्तुति दिई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकारीहरूलाई थप सक्रिय हुन आग्रह गरेका छन्।
हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा पुग्न लागेका प्रहरी उपरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा गरेको निर्देशन सम्बोधनमा उनले यो अपील गर्नुभएको हो। उनले संगठनको कार्ययोजना र लक्ष्यलाई प्राथमिकतामा राखी, नीति निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै कर्मचारी सक्रिय भई काम गर्नुपर्ने बताए।
उनले व्यक्तिगत स्वार्थभन्दा संगठनात्मक हितलाई प्राथमिकता दिने, चेन अफ कमाण्ड पालना गर्ने र सामूहिक प्रयासमा केन्द्रित हुने आवश्यकता बताए। नयाँ जिम्मेवारीमा नवीनतम विधि अपनाएर आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।
सुरक्षा व्यवस्थामा विद्यमान चुनौतिहरूको विश्लेषण गरी योजना बनाउने, सरोकारवालाहरूसँग समन्वय गर्ने र कर्मचारीको मनोबल अभिवृद्धि गर्न उनले जोड दिए। साथै, महिला, बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदायलाई प्राथमिकता दिने, साइबर अपराध, बैंकिङ्ग कसुर, आत्महत्या, मादक पदार्थजन्य अपराध नियन्त्रणमा विशेष ध्यान दिने आग्रह गरे।
सीमा क्षेत्रमा अपराध र राजस्व चुहावट नियन्त्रण, हिरासत व्यवस्थापनमा संवेदनशीलता अपनाउन उनले निर्देशन दिए। यस कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ अधिकारीहरू र काठमाडौं बाहिरका प्रहरी उपरीक्षकहरू भर्चुअल मार्फत सहभागी भएका थिए।










