काठमाडौँ, जेठ ३१ ! सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक रूपमा कमजोर, गरिब तथा असहाय वर्गलाई लक्षित गरी निःशुल्क दन्त सेवा प्रवाह गर्ने उद्देश्यले ॐ समाज डेन्टल अस्पताल, मञ्जुश्री असाहाय संरक्षण केन्द्र (काठमाडौं शाखा), तथा कायरा ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरबीच त्रिपक्षीय समझदारीपत्र (MOU)मा हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार देशभर ६७ जिल्लामा सक्रिय मञ्जुश्री केन्द्रमार्फत सेवा वञ्चित समुदाय, विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई दन्त स्वास्थ्य सेवा प्रदान गरिनेछ।
बनस्थलीस्थित ॐ समाज डेन्टल अस्पतालको शाखा प्रमुख सबिना पापन गुरुङ, अस्पतालका वरिष्ठ डेन्टिस्ट डा. सुवास घिमिरे, सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा, र मञ्जुश्री केन्द्र काठमाडौं शाखाकी अध्यक्ष मीना बस्नेतको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
कार्यक्रममा बोल्दै डा. घिमिरेले भने, “देशमा अझै पनि धेरै नागरिक आर्थिक अभावका कारण सामान्य स्वास्थ्य सेवा समेत लिन सक्दैनन्। हाम्रो अस्पताल नाफामुखी होइन, सेवा–मुखी संस्था हो। दुःखी, गरिब र असहायहरूप्रति सेवा गर्ने हाम्रो संकल्प निरन्तर रहनेछ।”
समझदारीपछि संलग्न संस्थाहरूले संयुक्तरूपमा दन्त स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा अन्य सामाजिक सेवा–केन्द्रित गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।










