Home मुख्य ललितपुरमा पत्रकारलाई एआई, गुगल टुल्स र खोज पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

ललितपुरमा पत्रकारलाई एआई, गुगल टुल्स र खोज पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

248
0

ललितपुर, असार ७ ! शुक्रबार डिजिटल मिडिया फाउन्डेशन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयुक्त आयोजनामा पाँचतारे होटल हिमालय, ललितपुरमा ‘खोज पत्रकारिता, डिजिटल पत्रकारिता र एआई’ विषयमा विशेष तालिम सम्पन्न भएको छ।

जिल्लाका २५ जना सक्रिय पत्रकारको सहभागितामा सम्पन्न तालिममा डिजिटल प्रविधिको उपयोग, अनलाइन स्रोतको सदुपयोग, खोज पत्रकारितामा प्रविधिको भूमिका, तथा गुगल टुल्सको व्यवहारिक प्रयोगबारे प्रशिक्षण प्रदान गरियो।

तालिमका प्रशिक्षकहरू प्रवेश सुवेदी र उमेश श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (AI), खोज पत्रकारिता र गुगल टुल्सको प्रयोगबारे विस्तृत र व्यवहारिक जानकारी दिएका थिए।
प्रशिक्षक सुवेदीले विषय छनोट, तथ्य संकलनदेखि विश्लेषणसम्मको प्रक्रिया र सूचना प्राप्तिमा गुगल टुल्सको प्रभावकारी उपयोगबारे अभ्याससहित प्रशिक्षण दिएका थिए।
त्यस्तै, प्रशिक्षक श्रेष्ठले प्रविधिलाई सहायक साधनको रूपमा अपनाउँदा समाचार सङ्कलन, तथ्य जाँच तथा सत्यापन प्रक्रिया अझ सशक्त र विश्वसनीय बन्ने उल्लेख गरे।

कार्यक्रमकी प्रमुख अतिथि तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले प्रविधिको विकाससँगै पत्रकारले प्राविधिक दक्षता हासिल गर्नु समयको माग भएको धारणा व्यक्त गरिन्। उनले समाचार लेखनसँगै डिजिटल उपकरण तथा स्रोतको प्रयोगले पत्रकारितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।

इन्टरनेशनल अलर्टकी प्रतिनिधि प्रतिष्ठा थापाले पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त सहयोगी हुने बताउँदै आगामी दिनमा पनि सहकार्य गर्न इच्छुक रहेको जानकारी दिइन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले यस्ता तालिमले पत्रकारको सीप विकास मात्र होइन, सामाजिक रूपान्तरणमा समेत योगदान दिने विश्वास व्यक्त गरे । सञ्चारकर्मीहरूले प्रविधिसँग कदम मिलाएर अघि बढ्नुपर्ने समय आएको उनको भनाइ थियो।

तालिम युरोपियन युनियनको आर्थिक सहयोग र इन्टरनेश्नल अलर्टको प्राविधिक सहकार्यमा सम्पन्न भएको हो। सहभागी पत्रकारहरूले तालिमबाट नयाँ प्रविधिको ज्ञान र व्यवहारिक सीप प्राप्त भएको अनुभव साट्दै, यस्ता कार्यक्रमले व्यवसायिक पत्रकारितालाई थप मजबुत बनाउने प्रतिक्रिया दिएका छन्। कार्यक्रमको अन्त्यमा सहभागी सबै पत्रकारलाई प्रमाणपत्र वितरण गरिएको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here