Home मुख्य रुपन्देही ३ को उपनिर्वाचन: रास्वपाबाट सागर ढकालको चर्चा

रुपन्देही ३ को उपनिर्वाचन: रास्वपाबाट सागर ढकालको चर्चा

182
0

काठमाडौं असार १९ ! आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनको तयारी तीव्र हुँदै गएको छ। प्रमुख दलहरू उम्मेदवार चयन तथा प्रचारमा जुटिरहेका बेला प्रतिस्पर्धा चर्किन थालेको देखिन्छ।

नेकपा (एमाले) ले पूर्व सांसद एवं संविधानविद् खिमलाल भट्टराईलाई उम्मेदवार बनाइसकेको छ। भट्टराई संविधान सभाको सदस्य तथा राष्ट्रिय सभाको सदस्यका रूपमा सक्रिय रहँदै आएका छन्।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा राजनीतिक विश्लेषक सागर ढकालको नाम चर्चामा छ। ढकाल अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेलधुराबाट उम्मेदवार बनेका थिए। यद्यपि उनी त्यतिबेला पराजित भएका थिए।

हाल उनी रास्वपासँग निकट छन् र सांसद सुमना श्रेष्ठसँग सिंहदरबारमा गरिएको फेसबुक लाइभमार्फत उम्मेदवारीको संकेत समेत दिएका छन्। रास्वपा प्रवक्ता मनीष झाले ढकालको सम्भावित उम्मेदवारीको पुष्टि नगरे पनि “नाम चर्चामा आउनु राम्रो कुरा हो” भन्दै सकारात्मक संकेत दिएका छन्।

उनका अनुसार उम्मेदवार चयनको अन्तिम निर्णय आउन अझै चार चरणको प्रक्रिया बाँकी रहेको छ। यस आधारमा ढकालको उम्मेदवारी औपचारिक बन्ने या नबन्ने विषयमा केही दिन कुर्नुपर्ने देखिन्छ।

रुपन्देही–३ मा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा लगायत अन्य दलहरूको रणनीति र उम्मेदवार चयन अझै स्पष्ट भइसकेको छैन। तर, सशक्त उम्मेदवारको प्रवेशसँगै यो निर्वाचन प्रतिस्पर्धात्मक हुने प्रबल सम्भावना देखिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here