ललितपुर साउन २२ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ‘राधा–लक्ष्मण कृयाशील पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ। पत्रकारिता पेशामा सक्रिय पत्रकारहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार ल्याइएको हो।
बिहीबार ललितपुर शाखा र ललितपुरको झम्सीखेल निवासी लक्ष्मणबहादुर विष्टबीच पुरस्कार स्थापना सम्बन्धी औपचारिक सहमति भएको हो। सो अवसरमा आयोजित कार्यक्रमबीच महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्की र विष्टले सहमति–पत्रमा हस्ताक्षर गरेका थिए।
स्मरणीय छ, पुरस्कारको नाम लक्ष्मण विष्टकी दिवंगत पत्नी स्व. राधा विष्टको स्मृतिमा ‘राधा–लक्ष्मण कृयाशील पत्रकारिता पुरस्कार’ राखिएको हो। विष्टले पुरस्कारको लागि १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्न प्रतिबद्धता जनाएका छन्। सो कोषको वार्षिक ब्याजबाट हरेक वर्ष एक जना कृयाशील पत्रकारलाई पुरस्कार प्रदान गरिनेछ।
महासंघका सचिव दीपक अर्यालका अनुसार पुरस्कार अर्थ, राजनीति, अपराध, कृषि, धर्म, संस्कृति तथा कलाजस्ता विषयमा कलम चलाउने पत्रकारहरूलाई लक्षित गरी प्रदान गरिनेछ। छनोट प्रक्रिया र कार्यविधि नेपाल पत्रकार महासंघ ललितपुर शाखाले तय गर्ने छ।
उक्त पुरस्कार प्राप्त गर्न महासंघ ललितपुरमा आवद्ध सदस्य हुनु अनिवार्य छ। यस कार्यले पत्रकारहरूमा थप ऊर्जा र प्रेरणा थप्ने अपेक्षा गरिएको छ।










