Home मुख्य नेपाली कांग्रेसमा रडागो

नेपाली कांग्रेसमा रडागो

89
0

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको विशेष महाधिवेशन रोक्न कांग्रेसको अपील

ललितपुर, पुस २५ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन अवैधानिक भएको ठहर गर्दै उक्त भेला तत्काल रोक्न अपील गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले पार्टीको विधान अनुसार नियमित १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको निष्कर्ष निकालेको हो।

बैठकले मिति २०८२ मंसिर १५ गते केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा महाधिवेशनको कार्यतालिका पारित गरिसकेको तथा २०८२ पौष १८ गते सो कार्यतालिका संशोधन गर्दै १५औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय भइसकेको स्पष्ट पारेको छ। यस्तो अवस्थामा विशेष महाधिवेशन माग गर्ने आधार स्वतः समाप्त भइसकेको बैठकको निष्कर्ष छ।

केन्द्रीय कार्यसम्पादन समितिले वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै विशेष महाधिवेशनको आयोजनाले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने, साथै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई क्षति पुग्ने चेतावनी दिएको छ।

निर्णयमा पार्टीको विधान अनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केन्द्रीय समितिलाई मात्र रहेको स्पष्ट पारिएको छ। त्यसैले पदाधिकारी वा सदस्यद्वारा व्यक्तिगत रूपमा आह्वान गरिएका अधिवेशन वा विशेष महाधिवेशनका नाममा हुने कुनै पनि गतिविधि विधान विपरीत हुने जनाउँदै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका नेता–कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिलाई अपील गरिएको छ।

बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमूल्लाह मन्सुरले आफ्ना धारणा राखेका थिए।

निर्वाचनपछि हुने नियमित महाधिवेशनमा पार्टीका सबै तहमा नेतृत्व चयन गर्नुका साथै सुधारका एजेन्डामाथि खुला छलफल गरिने बैठकले स्पष्ट गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here