काठमाडौं, पुस २५ — कृषि उत्पादनलाई पूर्ण उपयोग गर्दै आत्मनिर्भर बनाउने लक्ष्य राखेको एन.सी. एग्रो टेक इण्डस्ट्रीज लिमिटेडले काठमाडौंको बसुन्धरा स्थित सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा आफ्नो सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित कम्पनीको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ। प्रतिवेदनअनुसार कम्पनीको जारी पूँजी ७५ करोड, चुक्ता पूँजी ५६.२५ करोड, बैंक ऋण ३.५६ करोड, र संचित मुनाफा १.४६ करोड रहेको छ। प्रति शेयर आम्दानी रु. ४.२० र नेटवर्थ प्रति शेयर रु. १०२.६० रहेको छ। कम्पनीले सर्वसाधारणको लागि १८ करोड ७५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने योजना बनाएको छ र यसका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ, अहिले आईपीओ सेबोमा पाइपलाइनमा छ।
कम्पनीले स्थापना भएदेखि कृषि उत्पादनमा खेर जाने धानको भुस, गहुँको भुस, मकैको पिठो, गाई–भैँसीको मल, च्याउ उत्पादनपछि बाँकी सामग्री तथा बाँसजन्य कच्चा पदार्थलाई पुनः उपयोग गर्दै राजा च्याउ, डल्ले च्याउ, औषधीय गुणयुक्त च्याउ, बाँसको विभिन्न उत्पादन, कोइला र अर्गानिक मल उत्पादन गर्दै आएको छ। कम्पनीको प्रमुख उत्पादन अन्तर्राष्ट्रिय ब्राण्ड ‘किङ वेस्टर मसरुम’ अन्तर्गतको राजा च्याउ हो।
सभामा सञ्चालक दीपक प्रसाद न्यौपानेले कम्पनीले प्रत्यक्षरूपमा करिब १७० जनाभन्दा बढी रोजगारी सिर्जना गरेको जानकारी दिए, जसमा करिब ५० प्रतिशत महिला कर्मचारी रहेका छन्। कम्पनीले उत्पादित सामग्रीको बिक्री–वितरणमा किसानहरूसँग सहकार्य गर्दै आत्मनिर्भर कृषि प्रणालीमा योगदान पुर्याइरहेको उल्लेख गरियो।

भविष्यको योजना अनुसार कम्पनीले आईपीओ निष्कासन, अर्गानिक मल तथा औषधीय गुणयुक्त च्याउ उत्पादन विस्तार, क्यानिङ्ग प्लान्ट जडान, र सहायक कम्पनी एन.सी. बायो ग्रिन प्रोडक्टस् लिमिटेड सञ्चालन गर्ने तयारी गरिरहेको छ। साथै, विश्वभर पाइने विविध प्रकारका खाद्य तथा औषधीय गुण भएका च्याउको अनुसन्धानका लागि टिकाराम अर्यालको नेतृत्वमा अनुसन्धान विभाग गठन गरी उत्पादनको गुणस्तर र नवप्रविधि विकासमा काम भइरहेको जानकारी सभामा साझा गरियो।
कम्पनीले कृषि उत्पादनमा नयाँ प्रविधि, बीउ, अनुसन्धान, तालिम र अन्य संसाधन मार्फत नेपाललाई आत्मनिर्भर बनाउने र भविष्यमा उत्पादन निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ।










