Home समाचार मिटरब्याज र निर्माण व्यवसायको आवरणमा ठगी गरेको आरोप, नुवाकोटका रामशरण अधिकारी पक्राउ

मिटरब्याज र निर्माण व्यवसायको आवरणमा ठगी गरेको आरोप, नुवाकोटका रामशरण अधिकारी पक्राउ

338
0

काठमाडौं पुस २५ — ठगीसम्बन्धी आरोपमा नुवाकोटका रामशरण अधिकारी पक्राउ परेका छन्। पञ्चकन्या गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको मनमैजु बस्दै आएका ४६ वर्षीय अधिकारीलाई पीडितहरूको जाहेरीका आधारमा प्रहरीले काठमाडौंको धर्मस्थली क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार अधिकारीले आफ्नै नजिकका आफन्त तथा चिनजानका व्यक्तिहरूबाट चेकको भरमा रकम सापटी लिने र उक्त रकम अन्य व्यक्तिहरूलाई अत्यधिक ब्याजदरमा मिटरब्याजमा लगाउने गरेको आरोप छ। उनले महिनामा लाखको १० हजार रुपैयाँभन्दा बढी ब्याज लिने गरेको तथा व्यापारीहरूलाई छोटो अवधिका लागि उच्च दरमा ऋण दिने गरेको दाबी गरिएको छ।

अधिकारी RSA Construction का सञ्चालकसमेत रहेको जनाइएको छ। निर्माण व्यवसायको नाममा विभिन्न व्यक्तिसँग आर्थिक कारोबार गरी पछि हिसाब नमिलाई सम्पर्कविहीन हुने, गाडी भाडा र मजदुरको ज्याला नदिने जस्ता गम्भीर आरोप पनि उनीमाथि लागेको छ। ज्याला नपाएको भन्दै मजदुरहरूले पञ्चकन्या गाउँपालिकामा उजुरी दिएका भए पनि ती उजुरी हालसम्म न्यायिक समितिमै अल्झिएको स्रोतको भनाइ छ।

पीडितहरूको भनाइअनुसार अधिकारीले आफू कन्स्ट्रक्सनसम्बन्धी मुद्दाका कारण बैंकको ब्ल्याकलिस्टमा परेको भन्दै बैंकिङ कारोबार गर्न नसक्ने बहाना बनाउँदै नगद समेत सापटी लिने गरेका थिए। यसरी नगद कारोबारमा जोड दिँदा धेरै पीडितसँग लेनदेनसम्बन्धी लिखित प्रमाणसमेत नरहेको बताइएको छ।

विभिन्न बहानामा धेरै व्यक्तिलाई ठग्ने, नगद कारोबारलाई प्राथमिकता दिने र योजनाबद्ध रूपमा प्रमाण नछोड्ने शैली अपनाएको भन्दै अधिकारीको गतिविधि संगठित आर्थिक अपराधतर्फ उन्मुख देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रहरीले अधिकारीविरुद्ध ठगी, मिटरब्याज तथा अन्य आर्थिक अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको पीडितहरूले रामशरण अधिकारी पक्राउ परेपछि पनि कानुनी प्रक्रिया प्रभावित पार्दै धरौटीमा रिहा हुने र त्यसपछि सापटी तथा बक्यौता रकम नतिर्ने धम्की दिने गरेको बताएका छन्।

पीडितहरूको भनाइअनुसार अधिकारीले “धरौटीमा छुटिसकेपछि केही तिर्नु पर्दैन” भन्ने अभिव्यक्ति दिँदै दबाब र मानसिक त्रास सिर्जना गरिरहेका छन्। यसले पीडितहरू थप असुरक्षित महसुस गरिरहेको बताइएको छ। पीडित पक्षले यस्ता धम्कीलाई गम्भीर रूपमा लिन आग्रह गर्दै, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषी ठहरिए कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here