काठमाडौं पुस २६ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। गगन थापा समूहको पहलमा आयोजना गरिएको विशेष महाधिवेशनमा झण्डै ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको प्रारम्भिक आकलन गरिएको छ।

यिनै प्रतिनिधिहरूले अघिल्लो महाधिवेशनमा अत्यधिक मत दिएर शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापति निर्वाचित गराएका थिए। तर आज तिनै प्रतिनिधिहरू देउवा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनमा सहभागी भएका छन्, जसलाई ‘मत फिर्ता’को राजनीतिक संकेतका रूपमा हेरिएको छ।
कांग्रेसभित्र संगठन सञ्चालन, सरकार सञ्चालनको शैली, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र नेतृत्व परिवर्तनको आवश्यकता बढ्दै गएको आवाज विशेष महाधिवेशनमार्फत मुखर बनेको देखिन्छ। गगन थापा समूहले यो महाधिवेशनलाई पार्टी सुधार र नेतृत्वमाथि दबाब सिर्जना गर्ने निर्णायक कदमको रूपमा अघि सारेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार विशेष महाधिवेशनमा देखिएको उल्लेख्य उपस्थितिले नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलन परिवर्तनतर्फ उन्मुख भएको संकेत दिएको छ। महाधिवेशनका निर्णयहरूले पार्टीको आगामी रणनीति, नेतृत्व संरचना र आन्तरिक राजनीतिमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।










