काठमाडौं पुस २७ । नेपालको पूँजी बजार र विद्युत् उत्पादनसम्बद्ध क्षेत्रको सुदृढीकरणका लागि नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच २०८२ पुस २४ गते खुमलटारस्थित बोर्डको कार्यालयमा संयुक्त बैठक सम्पन्न भएको छ।
बैठकमा पूँजी बजारमार्फत विद्युत् परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय र नीतिगत सामञ्जस्यताका विषयमा छलफल केन्द्रित रह्यो। दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्र आवश्यक रहेकोमा दुवै निकायका प्रतिनिधिहरू एकमत भएका छन्।
बोर्ड र आयोगका नेतृत्व तथा प्रतिनिधिहरूले बजारमा विश्वास अभिवृद्धि, लगानीका अवसर विस्तार र पूँजी बजार तथा विद्युत् क्षेत्रको समग्र विकास–स्थायित्वका लागि निरन्तर सहकार्य, सूचना आदान–प्रदान र संयुक्त पहललाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
बैठकले पूँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई थप संस्थागत बनाउने उद्देश्यले दुवै निकायका प्रतिनिधि समेटिएको संयुक्त कार्यदल गठनबारे समेत छलफल गरेको छ। उक्त कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम–कानुन परिमार्जनका ठोस उपाय पहिचान गर्नेछ।
बैठकमा बोर्डतर्फबाट अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश के.सी. सहभागी थिए। आयोगतर्फबाट अध्यक्ष डा. राम प्रसाद धिताल, सदस्यहरू डा. मधुसुदन अधिकारी र भगिरथि भट्टराई ज्ञवालीसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।










