एजेन्सी वैशाख १४ ! क्यानाडाको भ्यानकुभरमा आयोजित फिलिपिनो सडक महोत्सवमा एउटा सवारी साधनले भीडमा जोतिँदा कम्तीमा ११ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन्। अधिकारीहरूले घटनालाई “वृहद् क्षति भएको घटना” (mass casualty incident) को रूपमा वर्णन गरेका छन्।
भ्यानकुभरका बासिन्दा ३० वर्षीय काई–जी एडम लो पक्राउ परेका छन् र उनलाई सामूहिक हत्याको आरोपमा अदालतमा पेश गरिएको छ।
भ्यानकुभर प्रहरीले घटनामा परेका पीडितहरू पाँचदेखि ६५ वर्ष उमेर समूहका रहेको जनाएको छ। केही पीडितहरूको परिचय अझै सार्वजनिक गरिएको छैन।
कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले मृतकमध्ये पुरुष र महिला दुवै रहेको जानकारी दिएका छन्। घटनाबारे सयभन्दा बढी प्रहरी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार घटनामा कुनै आतङ्कवादी समूहको संलग्नता नभएको प्रहरीले जनाएको छ।










