रसुवा असार १८ ! लगातारको वर्षासँगै गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङ क्षेत्रमा खसेको पहिरोका कारण पासाङ ल्हामु राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ।
फ्याङलुङ र लिङलिङमा खसेको पहिरो हटाउने प्रयास स्याफ्रुबेंशीबाट खटिएको प्रहरी टोलीले गरिरहेको छ। प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेर सडक खुलाउने कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, तातोपानी डाँडा र बालुवाखानीमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको जानकारी दिइएको छ। इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको नेतृत्वमा टोली परिचालन गरिएको छ। पहिरो खसेको स्थान टिमुरेबाट झन्डै ३ किलोमिटर दक्षिणमा पर्छ।
सडक अबरुद्ध भएपछि यात्रुहरू गन्तव्यमा पुग्न नसकी अलपत्र परेका छन्। पहिरो हटाउने कार्यलाई तीव्र बनाउन प्रहरी प्रशासनले रसुवागढी हाइड्रोपावरसँग समन्वय गरेको छ।
हालसम्म मानवीय क्षति नभएको भए पनि प्रमुख सडक खण्ड बन्द हुँदा जनजीवन प्रभावित भएको छ। प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ।










