Home समाचार गोदावरीका उत्कृष्ट विद्यार्थी सम्मानित

गोदावरीका उत्कृष्ट विद्यार्थी सम्मानित

353
0

ललितपुर, गोदावरी ! २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट प्रदर्शन गर्ने गोदावरी नगरपालिका वडा नं. ३ का विद्यार्थी, अभिभावक र विद्यालयलाई विशेष सम्मान गरिएको छ। वडा कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गर्दै ८ वटा विद्यालयका १८ जना उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मानित गरेको हो।

सम्मानित हुने विद्यार्थीहरूमा किटानी माध्यमिक विद्यालयका स्वस्तिका राई, बसन्ती वि.क, रोहन तिमल्सिना, सरिता मोक्तान, जयश्री रोकाया र रुबिन धिताल; पुष्पाञ्जली अङ्ग्रेजी माविका समृद्धि बस्नेत, मञ्जिल महत, सुमना श्रेष्ठ र आशिष लिम्बु; सुर्योदय शैक्षिक प्रतिष्ठानका सार्थक आचार्य; क्रसेन्ट अङ्ग्रेजी माविका प्रदिका लामा र मञ्जिला मगर; विद्यासागर अङ्ग्रेजी माविका युनिका शेर्पा, रुविन बिसुंखे र आस्था विसुंखे; तथा सेन्ट जेभियर गोदावरीका शान्वीश्री सिल्वाल र स्तुति सुवेदी रहेका छन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख गजेन्द्र महर्जनले विद्यार्थी, अभिभावक र विद्यालयको समन्वित प्रयासले उत्कृष्ट नतिजा सम्भव भएको बताए। उनले विद्यार्थीमा दृढ इच्छाशक्ति, लगनशीलता र प्रविधिको सही प्रयोगले मात्र उत्कृष्ट शिक्षा हासिल गर्न सकिने उल्लेख गर्दै देशमै बसेर उत्कृष्ट बन्न सकिने सन्देश दिए। साथै, उनले गोदावरीलाई नै प्राविधिक शिक्षाको केन्द्र बनाउने तयारीमा रहेको जानकारी गराए।

उपप्रमुख मुना अधिकारीले नगरपालिकाले निःशुल्क तथा अनिवार्य शिक्षा लागू गरिसकेको उल्लेख गर्दै सामुदायिक विद्यालयमा सुधार ल्याउन निरन्तर प्रयास भइरहेको बताइन्। उनले विद्यार्थीलाई उच्चशिक्षा हासिल गरी जीवनमा ठूलो लक्ष्य हासिल गर्न प्रेरित गरिन्।

वडा अध्यक्ष राज घिमिरेले आफ्नो बाल्यकालमा शैक्षिक साधन अभावको स्मरण गर्दै अहिलेको पुस्ताले पाएको अवसरको सदुपयोग गर्न आग्रह गरे। उनले विद्यार्थीलाई आफ्नो रुचिअनुसार विषय छनोट गरी निरन्तर मिहिनेत गर्न आग्रह गर्दै उज्वल भविष्य निर्माणमा लाग्न प्रेरित गरे।

शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनानाथ पन्थीले गोदावरीका विद्यालयहरूले हालैका वर्षहरूमा लगातार उत्कृष्ट नतिजा दिंदै गएका कारण यस क्षेत्रलाई ‘शिक्षा हब’ को रूपमा विकास गर्न ठोस कदम चालिएको जानकारी गराए।

कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालय समुदायमा नयाँ ऊर्जा, प्रेरणा र सम्मानको भावना सिर्जना गरेको आयोजकको भनाइ छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here