काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा उनले दर्ज्यानी चिन्ह ग्रहण गर्दै प्रहरीभित्र सुधार आफैंबाट सुरु गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले प्रहरी संगठनमा रहेका कमजोरीहरू लुकाएर सुधार सम्भव नहुने स्पष्ट पार्दै प्रहरीलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने लक्ष्य अघि सारे। “प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर सुधार सम्भव हुँदैन,” उनले भने, “सुधारको प्रारम्भ कोही र कसैबाट होइन, म आफैंबाट हुनुपर्छ भन्ने मान्यता राखेर अघि बढ्नेछु।”
आईजीपी थापाले सुधारका लागि साइत कुर्नु आवश्यक नरहेको उल्लेख गर्दै संगठनभित्र आवश्यक परिवर्तनका लागि आफू दृढ रहेको बताए। साथै, उनले आफ्ना सहकर्मी र मातहतका प्रहरी अधिकारीहरूलाई पनि सुधार प्रक्रियामा सक्रिय भूमिका निभाउन आग्रह गरे।
थापा यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत थिए। अपराध अनुसन्धानमा उनको अनुभव र नेतृत्व क्षमता नेपाल प्रहरीलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।










