क्वालालम्पुर ! मलेसियाको राजधानी क्वालालम्पुर नजिकै ग्यास पाइपलाइन विस्फोट हुँदा आगलागी भई ठूलो विनाश भएको छ। यस घटनामा १४५ जना घाइते भएका छन्, जसमा तीन जना बालबालिका पनि परेका छन्। आगलागीका कारण सयौं घर र सवारीसाधनमा क्षति पुगेको छ।
राष्ट्रिय तेल कम्पनी पेट्रोनासका अनुसार, मंगलबार बिहान ८:१० बजे सेलाङ्गोर राज्यको पुट्रा हाइट्स क्षेत्रमा रहेको ग्यास पाइपलाइन विस्फोट भएको हो। आगोको ज्वाला २० तला अग्लो देखिन्थ्यो भने विस्फोटपछि ठूलो खाडल बनेको थियो।
मलेसियाका स्वास्थ्य मन्त्री डजुल्केफली अहमदले दिएको जानकारी अनुसार, घाइतेमध्ये ६७ जनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ। अधिकांशलाई दोस्रो र तेस्रो डिग्रीको जलेको चोट लागेको छ। अन्य ३७ जनाले निजी अस्पताल तथा क्लिनिकमा उपचार गराएका छन्।
मलेसिया दमकल विभागका अनुसार, आगलागीका कारण १९० घर र १४८ गाडी नष्ट भएका छन्। घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ।
सुरक्षा निकायले विस्फोट भएको क्षेत्रको २९० मिटर वरिपरि घरहरू खाली गरिसकेको छ र हाल त्यहाँ जान रोक लगाइएको छ। सरकारी अधिकारीहरूले घटनाको गहिरो अनुसन्धान भइरहेको बताएका छन्।
प्रधानमन्त्री अनवर इब्राहिम आफैँ घटनास्थल पुगेका थिए। उनले घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडितहरूको पुनर्वासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
यस घटनाले मलेसियामा ग्यास पाइपलाइन सुरक्षा मापदण्डबारे गम्भीर प्रश्न खडा गरेको छ। अधिकारीहरूले भविष्यमा यस्ता घटनाबाट बच्नका लागि थप सुरक्षा उपाय अपनाउने बताएका छन्।










