Home समाचार ललितपुरमा पत्रकारहरूलाई लक्षित विपद् व्यवस्थापन तालिम सम्पन्न

ललितपुरमा पत्रकारहरूलाई लक्षित विपद् व्यवस्थापन तालिम सम्पन्न

303
0

ललितपुर, वैशाख २३ ! ललितपुरको महालक्ष्मीस्थानमा शुक्रबार विपद् व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ। गोदावरी नगरपालिका वडा नं. ३ को सहयोगमा तथा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको समन्वयमा तालिम आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले पत्रकारलाई समाजको ऐना भन्दै राज्यले पत्रकारको क्षमता अभिवृद्धिमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “उचित पारिश्रमिक, सेवा सुविधा र क्षमता अभिवृद्धिको कानुनी व्यवस्था गरेर पत्रकारितामा प्रेरणा दिनु आवश्यक छ। बागमती प्रदेशमा नीतिगत योजना बनाउँदा यस्ता विषय समेट्नेछौं।”

लामाले विपद् जोखिम न्यूनीकरणसम्बन्धी तालिम समयानुकूल र उपयोगी रहेको बताउँदै विपद् अवधिमा जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकारहरूले आफूलाई सुरक्षित राखेर कार्य गर्न सीप हासिल गर्ने विश्वास व्यक्त गरिन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद् जोखिम न्यूनीकरणलाई सबैको साझा दायित्व बताउँदै पत्रकारको भूमिका यसमा महत्वपूर्ण हुने बताए।

गोदावरी वडा नं. ३ का अध्यक्ष सानुराज (राज) घिमिरेले विविध प्रकारका विपद् हुने हुँदा सचेतता आवश्यक रहेको र सुरक्षित रूपमा समाचार सम्प्रेषण गर्न आग्रह गरे।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बाढी, पहिरो र प्रदूषणजस्ता चुनौतीबीच पत्रकारितामा सुरक्षा महत्वपूर्ण हुने भन्दै तालिम प्रभावकारी हुने धारणा राखे।

सशस्त्र प्रहरी बल दक्षिणकाली गण, सातदोबाटोका एसपी राजेश लामिछानेले तालिमले पत्रकारहरूलाई विपद् अवधिमा प्रभावकारी कार्य गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले विपद्मा सुरक्षितरूपमा समाचार संकलन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी गराए।

स्थानीय पत्रकार तथा युवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा भूकम्प, आगलागी, बाढी, पहिरो, हावाहुरी, वायुप्रदूषण, शीतलहर र हिमपातजस्ता प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरण सम्बन्धमा छलफल गरिएको थियो।

सहभागीहरूलाई विपद् आउनु अघि, समयमा र पछि कसरी तयारी गर्ने भन्नेबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो। तालिममा पूर्व चेतावनी प्रणाली, जलवायु उत्थानशीलता, समावेशी विपद् न्यूनीकरण, अन्तर स्थानीय तह सहकार्य, मानवीय सिद्धान्त, लैंगिक समानता, खुला क्षेत्र संरक्षण, शिविर व्यवस्थापन, जोखिमको वित्तीय व्यवस्था र कार्ययोजना तयार गर्ने विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here