काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान समस्याहरूको समाधान राजतन्त्र र गणतन्त्रको मध्यमार्गी बाटोबाट सम्भव हुने बताएका छन्। उनले राजा सहितको प्रजातन्त्र नै अहिलेको समस्याबाट मुलुकलाई निकास दिने बाटो भएको उल्लेख गरे।
मंगलबार काठमाडौंको बल्खुमा आयोजित बागमती प्रदेशस्तरीय खबरदारी सभामा बोल्दै अध्यक्ष लिङ्देनले सरकार र सत्तारूढ दलहरूलाई निषेधको राजनीति गरेको आरोप लगाए। उनले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न नदिइएकोप्रति आक्रोश व्यक्त गर्दै भने, “गणतन्त्र लुरे रहेछ भन्ने देखाउन बल्खु आएका हौं।”
लिङ्देनले थपे, “हाम्रो शान्ति र अहिंसालाई कमजोरी नठान्नुहोस्। हामी राजतन्त्र, हिन्दू राष्ट्र र संघीयता खारेजीको मागसहित चुनावमा सहभागी भएर पाँचौं शक्ति भएका छौं। भृकुटीमण्डपमा सभा गर्दा ढल्ने कस्तो गणतन्त्र हो?”
सरकार र प्रमुख दलहरू राप्रपाको बढ्दो प्रभावबाट डराएको उनको आरोप थियो। “केही हजार मान्छे र्यालीमा निस्किन्छन् भनेर डराउनु पर्ने ? हामीले चाहेर चारैतिरबाट जुलुस निकाल्यौं भने के होला?” उनले चेतावनी दिए।
लिङ्देनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई तत्काल रिहा गर्न माग गरे। साथै, “राजा चाहिन्छ भन्ने जनतालाई थुन्ने हो भने जेल खाली गर्न तयार हुनुहोस्,” भन्दै सरकारलाई चुनौती पनि दिए।
“हामी शान्तिको पक्षधर हौं,” लिङ्देनले भने, “तर हामीलाई कमजोर नठानियोस्।”
राप्रपाले प्रदेशस्तरीय सभाहरूको क्रममा देशभर ६ वटा कार्यक्रम सम्पन्न गरिसकेको छ। मंगलबारको काठमाडौंसभा बागमती प्रदेश अन्तर्गतको अन्तिम कार्यक्रम थियो।










