काठमाडौं पुस ९। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल ले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी नेता झलनाथ खनाल की धर्मपत्नी रविलक्ष्मी चित्रकार को स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
गत साता भारतमा उपचार पूरा गरी स्वदेश फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक काठमाडौंको डल्लुस्थित निवासमा पुग्नुभएको हो। भेटका क्रममा उहाँहरूले चित्रकारको उपचार प्रक्रिया र हालको अवस्थाबारे जानकारी लिनुभएको थियो।
नेता खनालका अनुसार चित्रकारको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको छ र थप सुधारका लागि उपचार जारी छ। पार्टी नेतृत्वले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोगका लागि सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ।










