ललितपुर ! नेपाल पत्रकार महासंघ र ललितपुरको गोदावरी नगरपालिका–३ को सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले लागू औषध न्युनिकरणमा पत्रकारको भुमिका विषयक अन्र्तक्रिया गरेको छ । मंगलबार ललितपुरको महालक्ष्मीमा आयोजित कार्यक्रममा लागू औषधसम्बन्धी समाचारहरु सम्प्रेषण गर्ने लगायत पत्रकारको दायित्वसम्बन्धि सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिइएको हो ।
यससम्बन्धि गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे, नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोसन पुरी लगायतले प्रशिक्षण दिएका थिए।
पछिल्लो समय लागू औषधबाट युवावर्ग बढी प्रताडित भएको र उनीहरुलाई सचेतना फैलाउन सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने वडाध्यक्ष घिमिरको भनाई छ । लागू औषध नियन्त्रणको अभियान समेत चलाएका ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष घिमिरेले धेरै युवाहरुमा वितृष्ण भएको सोहि कारण लागू औषधमा फसेको बताए । ‘लागू औषधले कसरी असर पारेको छ ?, युवाहरुलाई कसरी फस्दै छन् ?, र देशमा यसको असर के छ ?, भन्नेबारेमा सञ्चारकर्मी र सञ्चारमाध्यमले बढी भन्दा बढी ध्यान दिन आवश्यक देखिन्छ,’ उनले भने, ‘वडा नम्बर ३ मा लागू औषध सेवन रोक्न सचेतनाका अभियान गरिरहेका छौं, प्रहरीसँग समन्वय गरेका छौं, लागू औषध न्युनिकरण गरे समाज व्यवस्थित बन्न सक्छ, युवाहरुबाट देश निर्माणमा टेवा पुग्न सक्छ ।’ उनका अनुसार पछिल्लो समय वयश्क उमेर समूहका युवाहरु कुलत बढ्दो क्रममा छ । वडा कार्यालयले युवाहरुलाई यसबाट टाढा राख्न विभिन्न सचेतनाका कार्यक्रमहरु समेत गरेको हो ।
कार्यक्रमको दोस्रो सत्रमा अन्तक्र्रिया राखिएको थियो । महासंघका निवर्तमान महासचिव पुरीले विज्ञका रुपमा रोषन पुरीले प्रस्तुती दिए । उनले लागू औषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रणबारे सञ्चार माध्यमहरु चनाखो भएर समाचार सामाग्रा सम्प्रेषण गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पछिल्लो समय जारी गरेको पत्रकार आचारसंहिताले पनि लागू औषधलगायत जनस्वास्थ र समाजमा प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्न नहुने उल्लेख गरेको छ । तर पत्रकार महासंघको केन्द्रिय समितिले यसबारेमा पत्रकारलाई जिम्मेवार बनाउने गरी काम गर्न नसकेको आलोचना गरे ।
प्रस्तुतीकै क्रममा पुरीले नेपाल पत्रकार महासंघको इतिहास, विश्व परिवेशलगायतका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिए । उनले पछिल्लो समय पत्रकार महासंघको भुमिका कमजोर हुँदा पत्रकारितामा विकृति बढेको बताए । ‘पत्रकार महासंघको केन्द्रिय समिति अहिले निस्क्रिय जस्तै बनेको छ, तर नेपालमा पत्रकारितामा अनेकौं प्रश्न उठिरहेका बेला महासंघ थप जिम्मेवार भएर लाग्नुपर्ने हो,’ उनले भने ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका पत्रकारहरुलाई लागू औषधसम्बन्धी रिपोर्टिङ गर्दा बढी सचेत बनाउन पनि यस प्रकारको तालिम आयोजना गरिएको बताए । ‘सञ्चारकर्मीहरुले पनि लागू औषध नियन्त्रणमा अह्म भुमिका खेल्न सक्छन्, तर यसबारेमा समाचार संकलन तथा सम्प्रेषण गर्दा ध्यान नदिएमा नकारात्मक सन्देश पनि पर्वाह हुन सक्छ, त्यसैले उहाँहरुलाई थप ज्ञान हासिल होस् भने यस प्रकारको तालिम आयोजना गरेका हौं,’ उनले भने । तालिममा ८५ जनाभन्दा बढी सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।