ललितपुर वैशाख २८। प्रेस सेन्टर नेपाल ललितपुरले पत्रकार सुरेश रजकको निर्मम हत्या, प्रेस स्वतन्त्रतामाथिको बढ्दो आक्रमण र सञ्चारकर्मीको असुरक्षाविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत १० बुँदे ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ।
प्रेस सेन्टर नेपाल केन्द्रको पाँचौं राष्ट्रिय महाधिवेशनपछि गठित नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठकले पत्रकार सुरेश रजकको हत्या र पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका आक्रमणको कडा निन्दा गरेको छ। प्रेस सेन्टरले रजकलाई सहिद घोषणा गर्न र उनको परिवारलाई उचित राहत प्रदान गर्न माग गरेको छ।
ज्ञापनपत्रमा संविधानअनुसार प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनका लागि प्रेसमैत्री कानुन निर्माण, सञ्चार क्षेत्रका सरोकारवालासँग छलफल गरी नीतिगत सुधार र श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ।प्रेस सेन्टर नेपालले काठमाडौं घोषणापत्र मार्फत उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न माग गर्दै पत्रकारको सुरक्षा, सम्मानजनक पारिश्रमिक, बीमा, विज्ञापन प्रणाली, अनुदान र समानुपातिक सहभागिताका लागि स्पष्ट र ठोस नीति ल्याउन सरकारसँग आग्रह गरेको छ।
प्रेस सेन्टर नेपाल ललितपुरका अध्यक्ष दिपक अर्यालले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताजस्ता संवैधानिक मूल्यमान्यतामाथि सञ्चारमाध्यममार्फत भइरहेका प्रहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन्।