Home मुख्य माधव नेपाल विरुद्ध झाँक्रीको बाण प्रहार: सिनो बोकेर हिड्न सकिन्न

माधव नेपाल विरुद्ध झाँक्रीको बाण प्रहार: सिनो बोकेर हिड्न सकिन्न

336
0

काठमाडौं, असार १५ ! नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र नेतृत्व संकट झन् गहिरिँदै गएको छ। अध्यक्ष माधवकुमार नेपाल पतञ्जली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिनमा परेका थिए, जसपश्चात् मुद्दा दायर भई ३५ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका छन्।

केही समयदेखि अध्यक्ष नेपालको भूमिकालाई लिएर असन्तुष्टि बढ्दै आएको थियो। यही सन्दर्भमा नेतृ रामकुमारी झाँक्रीको पछिल्लो तीव्र टिप्पणीले पार्टीभित्रको असन्तुष्टिलाई सतहमा ल्याएको छ।

झाँक्रीले स्पष्ट भनिन्, “पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो।”

उनले अध्यक्षमाथि कानुनी र संवैधानिक समस्या आएको दाबी गर्दै थपिन्, “अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।”

झाँक्रीको यस्तो आलोचना पार्टी नेतृत्वमाथिको विश्वास गुम्दै गएको स्पष्ट संकेत मानिएको छ। पछिल्लो समय नेपालले निर्णय प्रक्रियामा केन्द्रीकरण र गुटीय स्वार्थलाई प्राथमिकता दिएको भन्दै उनको आलोचना हुँदै आएको थियो।

पार्टी स्रोतका अनुसार, अब महाधिवेशन वा विशेष केन्द्रीय बैठकमार्फत नेतृत्वमा वैकल्पिक बहस उठ्ने सम्भावना बढेको छ। कतिपय नेताहरूले झाँक्री पक्ष वैचारिक रूपमा नयाँ धार बनाउने रणनीतिमा रहेको संकेत दिएका छन्।

यसअघि पनि पार्टीका केही केन्द्रीय सदस्यहरूले अध्यक्ष नेपालको नेतृत्वमा पुनरावलोकन आवश्यक रहेको धारणा सार्वजनिक रूपमा राखिसकेका थिए। तर झाँक्रीको ‘मरेको सिनो’ भन्ने टिप्पणीले यो बहस अब प्रत्यक्ष संघर्षतर्फ उन्मुख भएको देखिन्छ।

अब नेकपा (एकीकृत समाजवादी) पार्टी पुनर्गठन, विभाजन वा सशक्त सुधार कुन बाटो लिन्छ, त्यसको निर्णय राजनीतिक घडीले छिट्टै गर्नेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here