एजेन्सी, असार १५ ! एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियाविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ। आज सम्पन्न खेलमा नेपालले ३७० रनको विशाल अन्तरले विजय हासिल गरेको हो।
पहिलो ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रन बनाएको थियो। यससँगै इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको थियो। जवाफमा ब्याटिङमा उत्रिएको इन्डोनेसियाको टोली २४.३ ओभरमै ५० रनमा समेटियो।
नेपालको जितमा बलर विपिन प्रसाद शर्मा नायक बने। उनले ७.३ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चिएर ६ विकेट झारेका छन्। उनको सानदार प्रदर्शनले इन्डोनेसियाको ब्याटिङ लाइनअप धराशायी बनायो।
नेपालको ब्याटिङतर्फ पनि प्रदर्शन उत्कृष्ट रह्यो, जसको भरमा टिमले ४२० रनको विशाल स्कोर खडा गर्न सफल भयो। टोलीले सबै विभागमा प्रभावशाली खेल प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ।










