काठमाडौं असार १६। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल सञ्चालक रहेको सुमिरे टुर्स एण्ड ट्राभल्सको गतिविधिमाथि प्रश्न उठ्दैछ। कम्पनीले अनुचित गतिविधि गरेको आशंकामा प्रधानमन्त्री कार्यालयमा औपचारिक उजुरी दर्ता भएको पुष्टि भएको छ।
उजुरीमा सुमिरे टुर्स एण्ड ट्राभल्सले नियमविपरीत आप्रवासन, श्रम स्वीकृति तथा पर्यटक सम्बन्धी गतिविधि संचालन गरिरहेको दाबी गरिएको छ। उजुरीकर्ताले ट्राभल्सको सञ्चालक समिति, आर्थिक कारोबार र सेवा प्रवाहको शैलीमा राजनीतिक संरक्षणको दुरुपयोग भएको आरोपसमेत लगाएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उजुरी औपचारिक रूपमा दर्ता भइसकेको छ र प्रारम्भिक अध्ययन थालिएको छ। यता डिपी अर्याल पक्षबाट भने यसबारे सार्वजनिक प्रतिक्रिया आइसकेको छैन।
केही दिन पहिले नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडा र रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल बिच संसदमा घोच पेच भएको थियो। यसै बिचमा डिपी अर्यालले अध्यक्ष रहेको सुमिरे ट्राभल्स सेवा प्रवाहमा र कारोबारमा आर्थिक दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।
रास्वपाले भिजिट भिसा प्रकरणलाई नछाड्ने अडान लिए पछि काँग्रेस र एमाले को तारोमा परेको छ। यो उजुरी पनि यसैको कडिको रूपमा लिन सकिन्छ।










