ललितपुर, साउन २३ ! विश्व स्तनपान सप्ताह (अगस्ट १ देखि ८) को अवसरमा ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयले बिहीबार स्तनपान कक्षको उद्घाटन गर्दै आमाको दूधलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। यस वर्षको नारामा “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने सन्देश प्रवाह गरिएको छ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख डा. भुवन पौडेलले आमाको दूध शिशुको पहिलो र सर्वश्रेष्ठ आहार भएको बताउँदै, जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने र दुई वर्षसम्म निरन्तर स्तनपानसँगै अन्य पूरक आहार दिनुपर्नेमा जोड दिए। उनका अनुसार शिशुको ८० प्रतिशत बौद्धिक विकास जीवनका पहिलो २ वर्षभित्र पूरा हुन्छ, जसलाई ‘गोल्डेन १००० दिन’ भनिन्छ।
आमाको दूध प्राकृतिक रूपमा सजिलै पच्ने कार्बोहाइड्रेट, आवश्यक मात्रामा फ्याट, प्रोटिन र लाइपेज इन्जाइमले भरिपूर्ण हुने हुँदा गाई–भैंसीको दूध वा कृत्रिम दूधभन्दा गुणस्तरीय हुन्छ। पहिलो ६ महिनासम्म बच्चालाई पानीसहित कुनै अन्य खाना–पानी दिन नहुने जनाइएको छ। स्तनपानले आमा र बच्चा दुवैको स्वास्थ्यमा लाभ पुर्याउने, अक्सिटोसिन हर्मोनमार्फत रक्तस्राव रोक्ने, तौल नियन्त्रण गर्ने, मानसिक तनाव घटाउने र कुपोषणबाट जोगाउने तथ्य प्रस्तुत गरिएको छ।
नेपालमा स्तनपानको अवस्था
सन् २०२२ को तथ्यांक अनुसार जन्मिएको एक घण्टाभित्र स्तनपान गराउने दर ६६ प्रतिशतबाट घटेर हाल ५६ प्रतिशतमा पुगेको छ। प्रदेशगत तथ्यांकमा बागमती प्रदेशको दर कम देखिएको भए पनि ललितपुरमा यो दर ८५ प्रतिशत रहेको जनाइएको छ। आर्थिक रूपमा सक्षम वर्गमा स्तनपान दर अपेक्षाकृत कमजोर देखिएको छ भने दूधदानीमार्फत स्तनपान गराउनेको संख्या बढी छ।
नीति र कार्यक्रम
सुत्केरी महिलाले श्रम ऐनअनुसार ९८ दिनको बिदा पाउने र स्तनपान कक्षमार्फत दुई वर्षसम्म हाफ–टाइम सुविधा उपलब्ध हुने व्यवस्था रहेको छ। सार्वजनिक स्थानमा स्तनपान कक्ष निर्माण गर्ने र मातृ–शिशु मैत्री अस्पताल विकास गर्ने कार्य अघि बढाइएको छ। साथै, आमाको दूध नपुग्ने अवस्थामा अन्य आमाबाट दूध सङ्कलन गर्ने व्यवस्था थापाथलीमा सुरु गरिएको छ।
सचेतना र अनुगमन
वरिष्ठ पत्रकार प्रभु नारायण बस्नेतले मातृत्वको मूल्य र जिम्मेवारीबारे सचेतना आवश्यक रहेको बताए। डा. पौडेलले बजारमा उपलब्ध कृत्रिम दूधको गुणस्तर अनुगमन गर्ने र स्तनपान प्रवर्द्धनका लागि समाज, समुदाय र व्यक्तिको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरे।










