Home मुख्य टिकट वितरणमा आर्थिक चलखेलको आरोपसहित रास्वपाकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्माको...

टिकट वितरणमा आर्थिक चलखेलको आरोपसहित रास्वपाकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्माको राजीनामा

154
0

काठमाडौँ  फाल्गुन ६।  राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्।

२०७९ साल श्रावण १० गतेदेखि पार्टी निर्माणमा सक्रिय भूमिका खेलेकी शर्माले केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको हैसियतमा पनि काम गर्दै आएकी थिइन्। तर आसन्न फागुन २१ गते हुने निर्वाचन सन्दर्भमा पार्टीले अपनाएको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली पार्टी स्थापनाकालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको उनको भनाइ छ।

उनले संगठन निर्माणमा दिन–रात खटिएका सक्षम कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत गतिविधि भएको र आर्थिक प्रभावका आधारमा निर्णय हुने अवस्था बनेको आरोप लगाएकी छन्। यस्ता गतिविधिले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा गम्भीर आघात पुगेको भन्दै अब मौन बस्न नसक्ने स्पष्ट पारेकी छन्।

शर्माको राजीनामाले रास्वपाभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र टिकट वितरण प्रणालीबारे गम्भीर प्रश्न उठाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। पार्टी नेतृत्वबाट भने यस विषयमा हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन।

मिति:- २०८२/११/६

केन्द्रीय कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं, नेपाल।

विषय: साधारण सदस्यबाट समेत नरहने गरि राजिनामा सम्बन्धमा।

श्रदेय,

म रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको हैसियतले २०७९ श्रावण १० गतेदेखि आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु। “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेकि छु। संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथी आंच आउने परिस्थिति बनेको छ; यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु। यस अवधिसम्म पार्टीले दिएको अभिभावकत्व, सहकार्य र अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु।

धन्यवाद।

भवदीया,

ममता शर्मा बारा,

मधेस प्रदेश

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here