काठमाडौं ! मानव बेचबिखन तथा ओसारपसारका नयाँ स्वरुप र आयामहरु नियन्त्रणका लागि यसविरुद्ध काम गर्ने सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संघसंस्थाहरुबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।
आइतबार डेमोक्रेसी मिडिया नेटवर्कले काठमाडौंमा आयोजना गरेको “मानव बेचबिखन तथा ओसारपसारको अवस्था, प्रवृत्ति, चुनौती र नियन्त्रणका प्रयासहरू” विषयक कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक तथा ब्युरोका प्रवक्ता गौतम मिश्रले फेसबुक म्यासेन्जर, भाइबर र ह्वाट्सएप जस्ता बिभिन्न सामाजिक सञ्जालको प्रयोग र नक्कली प्रयोगकर्ता निर्माण गर्ने वा विदेशबाटै सन्देश प्रवाह गर्ने क्रमले अनुसन्धानमा कठिनाई हुने गरेको बताए । नयाँ स्वरुपका मानव बेचबिखन र ओसारपसारको समस्या सामाना गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा चेतना अभिबृद्धी हुन आवश्यक छ, उनले भने।
यस अतिरिक्त भिजिट भिसाको आबरणमा घरेलु श्रमिकको रुपमा काममा जाने र बेचबिखनमा पर्ने जोखिम पनि बढ्दै गएको देखिन्छ, मिश्रले भने । पीडितसँग पीडकको परिचय खुल्ने जानकारी वा पर्याप्त विवरण नहुनाले पिडकको पहिचानमा समेत समस्या हुने गरेको छ । “कतिपय अवस्थामा प्रहरीलाई उजुरी गर्दा बुझाइसकेको पैसा उठाउन गाह्रो पर्ने बुझाईले गर्दा समेत पीडितले उजुर गर्न नचाहने प्रबृत्ति समेत देखिएको छ,” उनले भने ।
आर्थिक अभाव, बेरोजगारी, पारिवारिक समस्या, सामाजिक अन्याय, साथीसंगती, समृद्धिको सपनाजस्ता कारणहरुले गर्दा देशका विभिन्न भेगका नागरिकहरु मानव ओसारपसार तथा बेचविखनमा सक्रिय दलालको पासोमा पर्ने गरेको उनले बताए ।
मानव बेचबिखनमध्ये ७५–८० प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने गरेको एसपी मिश्रले बताए। “तुलनात्मक रुपमा महिलाहरु मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेको देखिन्छ। यसको रोकथामको लागि समाजको तल्लो तहसम्म सचेतना र जागरण फैलाउन आवश्यक छ।”
एसपी मिश्रका अनुसार मानव बेचबिखन सम्बन्धी घटनाको अनुसन्धान, अभियोजनाका लागि ब्यूरोमा चार वटा पिलर (शाखा) छुट्याएर काम भइरहेको छ।
पहिलो पिलरले नेपाल, भारतमा हुने मानवबेचबिखन तथा ओसार पसार एवं गैरकानुनी अंग प्रत्यारोपणसँग सम्बन्धी मुद्दा हेर्छ। दोस्रो पिलरले पूर्वी एसिया, दक्षिण पूर्वी एसिया, मध्य पूर्वी एसियाका ३८ देश हेर्छ भने तेस्रो पिलरले अमेरिका, अस्ट्रेलिया र युरोप तथा चौंथो पिलरले टर्की र अफ्रिका लगायत ५४ राष्ट्र हेर्ने एसपी मिश्रले बताए।
कार्यक्रममा डेमोक्रेसी मिडिया नेटवर्कका अध्यक्ष शिरोमणि ढुङ्गानाले मानव बेचबिखन, ओसार पसार र तस्करीका बारेमा सत्य सूचना प्रवाह गर्न एवं सार्वजनिक बहसको सुरुआतका लागि सञ्चारमाध्यम र नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताए। अध्यक्ष ढुङ्गानाले सञ्चारमाध्यमले समस्याहरू मात्र प्रस्तुत गर्नुभन्दा जानकारी एवं सूचना प्रवाह गरेर सम्भावित जोखिममा रहेका व्यक्ति र आमनागरिकलाई सुसूचित गर्ने दायित्व बहन गर्नुपर्ने बताए।
डेमोक्रेसी मिडिया नेटवर्क मानव बेचबिखन तथा ओसार पसारजस्तो संगठित अपराधका विरुद्ध नागरिक समाज, सञ्चारमाध्यम, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकायहरुसँग साझेदारी गरेर काम गर्न प्रतिबद्ध रहेको अध्यक्ष ढुङ्गानाले बताए।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौतीहरु थपिँदै
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1